अन्तरदेशीय पानी सुशासन र दीगो विकासको लक्ष्यमा युवा पुस्ता जोडिनु पर्नेमा जाेड
काठमाडाैं, साउन २७ : अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग परियोजना (ट्रोसा) ले ‘अन्तरदेशीय सीमाको पानी सुशासन एवं दीगो विकास लक्ष्यमा युवाको भूमिका’ विषयक युवा सम्मेलन आयोजना गरेको छ।
कार्यक्रमको अध्यक्षता गरेकी डा. आरजु राणा देउवाले अन्तरदेशीय सीमाको पानी र दीगो विकासको लक्ष्यमा युवा पुस्ताको सहभागिता अपरिहार्य रहेको बताएकी छिन्। अन्तरदेशीय सीमा नदीको वरिपरि बसोवास गर्ने समुदायप्रति युवा तथा महिलाको भूमिका पृथक हुनेमा उनले जोड दिइन्।
ति समुदायको जीवनस्तर उकास्न स्थानीय तह र गैरसरकारी संस्थाको पहल मात्र पर्याप्त नहुने बताउँदै उनले युवा पुस्ताको सामुहिक सक्रियता अपरिहार्य रहेको बताएकी छिन्।
सम्मेलन ललितपुरको खुमलटारस्थित यूूलेन्स् स्कुलमा भाैतिक तथा भर्चुअल रुपमा आयोजना गरिएको हो। अक्सफाम नेपालसँगको सहकार्यमा महाकाली नदी बेसिन क्षेत्रमा ट्रोसा परियोजना सञ्चालन गरिरहेको स्थानीय साझेदार संस्था रुडुक, रुडेस, निड्स र सीआरडीएसले कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमारका प्रतिनिधिहरुले प्रतिवेदन पनि प्रस्तुत गरेका छन्।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को संस्थापक अध्यक्ष समेत रहेकी डा. देउवाले सुरुआतबाटै सो परियोजनामा जोडिन पाएको खुशी व्यक्त गरेकी छिन्। नदीको आसपास तथा नदीसँग जोडिएर बस्ने समुदायका बालबालिका, महिला, तथा युवा वर्गलाई विभिन्न सामाजिक संस्थामा आबद्ध गराउनुपर्ने पनि उनले बताइन्।
‘पछाडी परेको समुदायका लागि नयाँ पुस्ताले अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘उनीहरुको जीवन सुधार्न अब युवा पुस्ताले भूमिका खेल्नुपर्छ।’ यो गम्भिर विषय भएका कारण यसमा स्थानीय तह, जिल्ला र गैरसरकारी संस्थाको पहल र युवा वर्गको सक्रियताका अलावा संघीय सरकारको सहयोग पनि उत्तिकै आवश्यक रहेको उनले औंल्याएकी छिन्।
कार्यक्रमका प्रमुख अतिथि तथा युएनईसीईका कानूनी सल्लाहकार रेमी किन्नाले अन्तरदेशीय सीमा नदीमा भएका सहकार्यले शान्ती स्थापना तथा विवाद समाधानमा उल्लेखनीय भूमिका खेलिरहेको बताए। उनले सार्क क्षेत्रमा अब युवा पुस्ताले अग्रसरता लिनुपर्नेमा पनि जोड दिए। अन्तर्राष्ट्रियस्तरमा सार्क राष्ट्रका युवा पुस्ताले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा उनले प्रस्तुतीतकरण पनि दिएका थिए।
रुडुकका राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्ठले नयाँ सरकार तथा स्थानीय तहले विभिन्न क्षेत्रबाट युवा वर्गलाई प्रोत्साहन गरिरहेको बताए। साथै, पिछडिएको वर्गलाई प्रोत्साहन गर्दै सक्षम बनाउन पनि कायक्रमहरु सञ्चालन भइरहेको उनले बताएका छन्।
‘पछिल्लो समय रुडुकले धनगढीमा युवा पुस्ताको सक्रियता वृद्धि गर्नुका साथै त्यस क्षेत्रमा हुनेगरेका महिला हिंसाको विषयमा आवाज उठाउँदै आइरहेको छ,’ डा. श्रेष्ठले भने। प्रतिस्पर्धामा आउन नसकेको वर्गलाई सक्षम बनाउन लागि परेको उनको भनाई छ।
‘पानी सुशासनमा महिलाको नेतृत्व आवश्यक छ, सबैले आफ्नो भूमिका बुझेर सहयोग गर्नुपर्छ,’ उनले भने, ‘सीमा नदी क्षेत्रका बासिन्दालाई सामुहिक रुपमा आबद्ध हुन पनि सिकाउनुपर्छ।’
अक्सफाम नेपालका रिभर बेसिन व्यवस्थापक राजन सुवेदीले युवा पुस्ताको सोचले सार्क मुलकका सबैलाई प्रभाव पार्ने धारणा व्यक्त गरे। नदीजन्य स्रोतको अधिकतम उपयोग र व्यवस्थापनमा पनि युवा लाग्नुपर्ने उनले बताए।
ट्रोसा परियोजनामा युवा वर्गले निभाएको भूमिकाबारे नेपालबाट केसरी तिवारी, भारतवाट सोभित चेपे, म्यानमारबाट जोन ब्राइट, बंगलादेशबाट नुजात नूरीले पानी सुशासनमा सरोकारवालाबीच आपसी समन्वय र सहकार्यले अन्तरदेशीय पानी सुशासनमा सहयोग पुर्याउने प्रतिवेदन प्रस्तुत गरेका छन्।
कार्यक्रमको दोस्रो सत्रमा ‘अन्तरदेशीय पानी सुशासनमा महिला नेतृत्वः भूमिका तथा उपलबधी’ विषयमा छलफल भएको थियो। दोस्रो सत्रकी अध्यक्ष तथा अक्सफामको परियोजना व्यवस्थापक सरीता राउतले महिलाको भूमिका बढाउन महिलालाई नेतृत्वको जिम्मेवारी दिइनुपर्नेमा जोड दिइन्।
महाकाली नदी आसपास बसोबास गर्दै आएका बासिन्दाको अवस्था र उन्नतीको बारेमा नेपालबाट जयन्ती चन्दले प्रस्तुती दिएकी थिइन्। महाकाली नदीमा ढल मिसाएका कारण प्रदुषण बढेकोमा उनले चिन्ता व्यक्त गरिन्।
यद्यपि, नदीमा र्याफिटिङ सञ्चालन गर्नको लागि बजेट विभाजन हहुनु सकारात्मक पक्ष रहेको पनि उनले औंल्याइन्।
युवाको भूमिका र उपलब्धीबारे नेपालको तर्फबाट जयन्ती चन्द, भारतबाट अरुन्धती बोरा, म्यानमारबाट आई खिनी र बंगलादेशबाट फातीमा जन्नतले गंगा, ब्रह्मपुत्र र साल्वीन बेसिनमा गरेका उपलब्धी, चुनौती तथा समस्याहरुबारे अनुन्धानमुलक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
उनीहरुले नदी छेउछाउमा बसोबास गर्ने महिला तथा बालबालिको दैनिकी प्रस्तुत गरेका थिए। जसमा महिलाले ढुङ्गा चलाइएको, माछा संकलन गरेको श्रव्यदृश्य देखाइएको थियो। समुदायस्तरमा जीविकोपार्जन लगायत पूर्वसूचना प्रणाली, यूवाहरुको संलग्नता, नदीजन्य स्रोतहरुको अधिकतम उपयोग र व्यवस्थापन गर्ने कुरामा युवा पुस्ताले जोड दिनुपर्ने बताए।
दोस्रो पुस्ताको नेतृत्व निर्माणबाट लैंगिक समतामूलक समाजको निर्माण गरी अन्तरदेशीय पानी सुशासनमा महत्वपूर्ण योगदान कसरी दिन सकिन्छ भन्ने विषयमाथिको छलफल कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। समुदायस्तरमा जीविकोपार्जनलगायत पूर्वसूचना प्रणाली, यूवाहरुको संलग्नता, नदीजन्य स्रोतहरुको अधिकतम उपयोग र व्यवस्थापन गर्ने बारेमा प्रतिवद्धता जनाउँदै पहिलो दिनको कार्यक्रम समापन गरिएको छ।
अक्सफाम नेपालसँगको सहकार्यमा महाकाली नदी बेसिन क्षेत्रमा ट्रोसा कार्यक्रम सञ्चालन गर्ने स्थानीय साझेदार संस्था रुडुक, रुडेस, निड्स र सीआरडीएसले आयोजना गरेको यो कार्यक्रम तीन दिनसम्म चल्नेछ।
https://kathmandupress.com/news/41899?fbclid=IwAR2NKr3QtR2vkeCcZ2WZYS8l6fh8XPdg4wf7W7P36TcRgFFSq3yk5DVJUQI
DAY ONE Link : https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=1418639088536948
DAY TWO Link: https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=360134769090842
DAY THREE Link : https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=346601367123033